October 16, 2026

नेपालै नरहे – माधव घिमिरे

0
नेपालै नरहे
माधव घिमिरे

 

नेपाल नरहे नेपालीहरुको अस्तित्व रहला त? नेपालीहरुको राष्ट्रिय पहिचान र जातीय अस्तित्व नेपाल राष्ट्रसँग गाँसिएको छ । नेपाल भनेको हिमाल, पहाड र तराई मिली बनेको भौगोलिक एवम् जैविध विविधता पनि हो । भाषिक र सांस्कृतिक विविधता भएको मुलुक पनि नेपाल नै हो । नेपाल भनेको कोसी, कर्नाली र गण्डकीजस्ता मुख्य नदी प्रणालीले सिँचेको र मेची तथा महाकाली नदीले पूर्वी तथा पश्चिमी सिमाना बाँधेको सार्वभौम सत्तासम्पन्न स्वाधीन मुलुक हो । यो मुलुक नेपालीहरुको जातीय, भाषिक र सांस्कृतिक पहिचान तथा राष्ट्रिय स्वाभिमानसँग अभिन्न रुपले गाँसिएको छ । यस सन्दर्भमा नेपाल नरहे हामी नेपाली पनि रहँदैनौँ भन्ने कुरालाई कवि घिमिरेले आफ्नो गीतमा कसरी प्रस्तुत गरेका छन्? त्यो कुरा थाहा पाउन तलको गीत भाका हालेर पढौँ ।

नेपाली हामी रहौंला कहाँ नेपालै नरहे
उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे

तराई हाम्रो सुनको टुक्रा हिमाल हिराको
माटो र पानी पहिलो धन धर्तीको छोराको
ए कहाँबाट हेरौंला संसार सन्झ्यालै नरहे
नेपाली हामी रहौंला कहाँ नेपालै नरहे

दसैँ र तिहार रमाइला हाम्रा चुड्का र ख्यालीले
हिर्दय हाम्रो जुर्मुराउँछ जितको झ्यालीले
बैँसको तालमा नाचौँला कहाँ मादलै नरहे
नेपाली हामी रहौंला कहाँ नेपालै नरहे

आकाश छुने टाकुरा हाम्रो भेटेर भेटिन्न
पौरखी हाम्रा पुर्खाको पाईला मेटेर मेटिन्न
विम्झौँला कहाँ पूर्वको पैलो उज्यालै नरहे
नेपाली हामी रहौंला कहाँ नेपालै नरहे

(किन्नर– किन्नरीबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *